काठमाडौं । नेपाल आयल निगम एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न आजदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ।
निगमका अनुसार पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको माग असामान्य रूपमा बढ्दै गएको छ। मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी प्रभाव परेको बताइएको छ।
निगमले ग्यास आपूर्ति गर्ने भारतमै पनि सर्वसाधारण उपभोक्ताले ग्यास पाउन कठिनाइ भएको समाचार सार्वजनिक भएपछि नेपालमा आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमै भण्डारण गर्ने प्रवृत्ति बढेको जनाएको छ।
यस अवस्थालाई ध्यानमा राख्दै आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन र सबै उपभोक्ताले ग्यास पाउने सुनिश्चित गर्न निगमले आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर प्रति सिलिन्डर ९५५ रुपैयाँमा बिक्री गर्ने व्यवस्था गरेको जनाएको छ।
निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न पनि आग्रह गरेको छ।