काठमाडौं । देशभर मौसममा विभिन्न वायुमण्डलीय प्रणालीको आंशिक प्रभाव देखिएको छ । हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ । ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्ले बताएका छन् ।
महाशाखाले वर्षा र हिमपातको सम्भावना भएका क्षेत्रका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी ती क्षेत्रमा यात्रा गर्ने तथा यातायात सञ्चालन गर्नेहरूलाई सतर्क रहन अनुरोध गरिएको छ ।