बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१६ प्रतिशत भन्दा बढि ब्याज लिने सहकारीको कारोबार रोक्का हुने

सोमबार, साउन २० २०७६

काठमाडौं साउन, २०– सहकारी क्षेत्रमा आइतबारदेखि १६ प्रतिशतभन्दा बढि ब्याज लिन नपाइने भएको छ । विभागले सन्दर्भ ब्याजदर तथा स्प्रेडदर लागू गरेसँगै १६ प्रतिशतभन्दा बढि ब्याज लिन नपाइने भएको हो ।
१६ प्रतिशत भन्दा बढि ब्याज लिने सहकारीको कारोबार रोक्का देखि जरीवाना समेत गर्ने सहकारी विभागले जनाएको छ । देशभरमा अहिले ३४ हजार ५ सय १२ सहकारी रहेका छन् । र , यस्ता सहकारीमा ३ खर्ब २ अर्ब निक्षेपको रुपमा रहेको छ । साथै यस्ता सहकारीले २ खर्ब ७३ अर्ब ऋण लगानी गरेका छन् ।

निक्षेपमा कम ब्याज दिने बैंकहरुले कर्जामा उच्च ब्याज लिएका छन् । कर्जामा २५ प्रतिशतसम्म ब्याज लिएको पाइन्छ । जसलाई नियन्त्रण गर्नका लागि सहकारी विभागले आइतबार देखि सहकारीमा क्षेत्रको कर्जाको ब्याजदर र स्प्रेडदर तोकेको हो ।
अब १६ प्रतिशत भन्दा बढि कर्जामा ब्याज लिन पाइनेछैन । त्यस्तै कर्जाको ब्याजदर र निक्षेपको ब्याजबिच ६ प्रतिशत भन्दा बढि अन्तर हुनुहुँदैन । यदि कोहि कसैले यस्तो निर्देशन छलेर चर्काे ब्याज असुलेमा उक्त सहकारीको कारोबार रोक्काका साथै आर्थिक जरिवाना  हुनेछ ।

खुलाबजार अर्थतन्त्र भएकाले ब्याजदर तोकिनु त्यती जायज त होइन । ब्याजदर बजारले नै निर्धारण गर्ने कुरा हो ।  

बैंकहरुको स्प्रेडदर तोकिएपनि ब्याजदर भने तोकिएको छैन । यही अनुसार सहकारीको पनि ब्याजदर नतोकि स्प्रेडदर मार्फत मात्रै ब्याजदर नियन्त्रण गर्नुपर्ने हो । तर, सहकारीहरुले निक्षेपकर्ताले अत्यन्त न्युन ब्याज दिने र आफुले चर्काे शुल्क असुल्ने गरेपछि सरकारले ब्याजदर निर्धारण गर्न बाध्य भएको हो ।

यसको नियमन स्थानिय तहदेखि प्रदेश सरकार र ठूला सहकारीलाई सहकारी विभागले गर्नुपर्छ । अब  नियमन कति प्रभावकारी हुन्छ भनेर हेर्न जरुरी छ । ब्याजदर तोकेर मात्रै हुँदैन , त्यसलाई कार्यान्वयनमा लान नियमनको खाचो हुन्छ  ।

सहकारीहरुको बढि ब्याज लिने प्रवृतिलाइ निरुत्साहन जरुरी छ । सहकारी क्षेत्रमा १६ प्रतिशत ब्याजदर कायम  गर्नका लागि आमनागरिक समाजपनि यस प्रति सचेत हुन  जरुरी छ ।