काठमाडौं साउन, १९– प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । ओलीले सिंगापुरको सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने छन् ।
उनी सिंगापुरको नियमित उडान सिल्क एअरमा त्यसतर्फ प्रस्थान गरेका हुन् । ‘प्रधानमन्त्रीको समग्र स्वास्थ्यको परीक्षण सिंगापुरमा हुनेछ । अहिले उहाँको बसाई एक साता तय भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने, ‘प्रधानमन्त्रीलाई त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटल (एनयुएच) ले प्ररीक्षणमा कति समय लगाउँछ त्यही आधारमा बस्नु हुनेछ ।’
सिंगापुरको सरकारी अस्पताललाई न्युयोर्कमा रहेका ख्यातीप्राप्त निजी एवं सरकारी अस्पतालसँग तुलना गरिन्छ । यसअघि उनले आफ्नो उपचार दिल्ली, थाइल्याण्ड र सिंगापुराम गराउँदै आएका थिए ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले आफ्नो स्वास्थ्य परीक्षणलाई उत्तिकै महत्व दिँदै आएका छन् । उनको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण काठमाडौं, दिल्ली, बैंकक र सिंगापुरमा हुँदै आएको थियो ।
प्रधानमन्त्रीसँग धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा। दिव्यसिंह शाह छन् । प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फर्कनेछन् । सिंगापुरमा उच्चस्तरको राजनीतिक भेटघाट नहुने भनिए केही महत्वपूर्ण भेट हुने बताइएको छ ।