रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कन्हैया बनिया विजयी भएका छन्। उनले २८ हजार ६६ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्राले १५ हजार ६१३ मत ल्याएका छन्।
निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार उक्त क्षेत्रमा कुल १ लाख १६ हजार १७२ मतदाता रहेकामा ७६ हजार ८१२ मत खसेको थियो।
मतगणनाको प्रारम्भिक चरणमा एमालेका यादवले अग्रता कायम राखेका थिए। तर रातिबाट रास्वपाका बनियाले अग्रता लिँदै मतान्तर फराकिलो बनाउँदै अन्ततः विजय हासिल गरेका हुन्।
यता रुपन्देहीका अन्य चार निर्वाचन क्षेत्रमा पनि मतगणना जारी छ। तीमध्ये क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलभन्दा रास्वपाका सुलभ खरेल ३७ हजार मतसहित अगाडि रहेको जनाइएको छ।