बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

जनताले निर्वाचनमार्फत अराजकता र अस्थिरतालाई अस्वीकार गर्नेछन् : शंकर पोखरेल

बिहिबार, फाल्गुन २१ २०८२

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेपाली जनताले निर्वाचनमार्फत अराजकता, विध्वंस र अस्थिरतालाई अस्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले आफ्नो मतदान अधिकार प्रयोग गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुलुकको लोकतन्त्र, संवैधानिक व्यवस्था र राष्ट्रिय हित चुनौतीमा परेको उल्लेख गर्नुभयो। उहाँले यस निर्वाचनले ती विषयलाई जनमतमार्फत पुनःस्थापित गर्ने विश्वास व्यक्त गरे ।

पोखरेलले यस निर्वाचनलाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण घटनाका रूपमा लिनुपर्ने बताउँदै राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक बनेको उल्लेख गर्नुभयो। समाजमा बढ्दै गएको ‘पपुलिज्म’ (लोकरिझ्याइँ) र ‘एनार्किजम’ (अराजकता) राजनीतिक स्थायित्वका लागि ठूलो चुनौती बनेको उनको भनाइ छ।

उनले यस निर्वाचनबाट सबै समस्याको तत्काल समाधान नआए पनि यसले सही दिशातर्फ अघि बढ्ने आधार तयार गर्ने र भविष्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

निर्वाचन परिणामबारे टिप्पणी गर्दै पोखरेलले विचारधाराको जगमा उभिएका प्रमुख राजनीतिक दलहरू नै मुख्य शक्तिका रूपमा स्थापित हुने दाबी गर्नुभयो। मुलुकलाई अराजकता र विध्वंसतर्फ लैजानु राष्ट्रको दीर्घकालीन हितमा नहुने कुरा नेपाली जनताले महसुस गरिसकेको उनले बताए ।

दक्षिण एसियाली मुलुक श्रीलंका र बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन परिणामको उदाहरण दिँदै उनले ती देशका जनताले देखाएको सचेतताभन्दा कम सचेत नेपाली जनता नरहेको पनि स्पष्ट पारे ।