काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार हुने निर्वाचनमा निर्धक्क भएर मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन् ।
उनले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सबै तयारी सम्पन्न भइसकेको जानकारी दिँदै आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरे । गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन लागेको उल्लेख गर्दै उनले यस निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे।
भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे। निर्वाचन कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरण सुनिश्चित गर्न आयोग दृढ संकल्पित रहेको उनको भनाइ छ।
मतदानलाई मतदाताको नैसर्गिक अधिकार र कर्तव्य दुवै भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताउनुभयो। संविधान र कानूनअनुसार निश्चित उमेर पुगेका सबै नागरिक मतदाता हुने र प्रत्येक मतको मूल्य समान हुने भएकाले मतदानमार्फत शासन, नीति, नेतृत्व र राजनीतिक व्यवस्थाको दिशा निर्धारण हुने उहाँले उल्लेख गरे ।
उनका अनुसार मतदाताको सहभागिता राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति हो। सुसूचित रूपमा मतदान गर्दा शासनप्रतिको नागरिक अपनत्व अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले सबै मतदातालाई आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न हार्दिक अनुरोध गरे ।