काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल का तर्फबाट सिरहा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन्।
नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्कारपियो गाडीलाई शिवचोकमा नियमित चेकजाँच गर्ने क्रममा नगद रु ४ लाख ८७ हजार बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
मधेस प्रदेश प्रहरी कार्यालय का वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता कमल थापा ले उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। उहाँका अनुसार गाडीबाट मतपत्रसमेत फेला परेको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। थप अनुसन्धान र कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा–२ का उम्मेदवार मनोज चौधरी पनि पक्राउ परिसकेका छन्।