काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको विवरण संकलन प्रक्रिया अघि बढाएको छ।
परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको विशेष पोर्टलमार्फत खाडी मुलुकमा रहेका नेपालीको तथ्यांक संकलन सुरु गरिएको हो। उक्त पोर्टलको प्रचारप्रसार र आवश्यक समन्वय सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले गरिरहेका छन्।
नेपाली दूतावास रियाद ले सूचना जारी गर्दै साउदी अरेबियामा रहेका नेपाली श्रमिक तथा नागरिकलाई अनिवार्य रूपमा आफ्नो विवरण दर्ता गर्न आग्रह गरेको छ। दूतावासका अनुसार सम्भावित आपत्कालीन अवस्था तथा आवश्यक कूटनीतिक कारबाहीका लागि नागरिकको अद्यावधिक विवरण आवश्यक पर्ने भएकाले पोर्टल सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले तयार पारेको उक्त प्रणालीमार्फत विशेष गरी साउदी अरेबिया र यमनमा रहेका नेपालीको अवस्था सम्बन्धी जानकारी संकलन गरिने जनाइएको छ। यसले आवश्यक परेमा उद्धार, समन्वय वा अन्य सहायता कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
यसैबीच, विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाहरूले पनि सहयोग समन्वयका लागि आफ्ना सम्पर्क व्यक्ति तोकेर जानकारी सार्वजनिक गरेका छन्।