काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई अन्तर्राष्ट्रिय स्तरमा उकासेको दाबी गरेका छन् ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक नक्शा जारी गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। पहिले आफ्नो भूमि दाबी गर्ने आधारसमेत कमजोर अवस्थामा रहेको भन्दै उनले मिचिएको भूभागलाई नेपालको आधिकारिक नक्शामा समावेश गरेर बलियो दाबी प्रस्तुत गरिएको बताए ।
उत्तर दिशातर्फ चीनसँगका नाका सञ्चालनमा ल्याएर समुद्रसम्मको पहुँच सुनिश्चित गरिएको उनको भनाइ छ। “नेपाल अब ‘ल्यान्ड–लक्ड’ मात्र होइन, ‘ल्यान्ड–लिङ्क्ड’ देश बनेको छ,” उनले भने । विश्वसँग जोडिने र समुद्रसम्म पुग्ने वैकल्पिक मार्ग चीनतर्फबाट खुलेको दाबी उनले गरे ।
राष्ट्रियताको सवालमा नेकपा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिबद्धता दोहोर्याउँदै उनले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आवाज सुनिने गरी काम गरिएको दाबी गरे ।
अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधार विकासका कामहरूको पनि चर्चा गर्नुभयो। मेची–महाकाली राजमार्ग विस्तार, हुलाकी राजमार्ग तथा मदन भण्डारी राजमार्गको सुरुआत आफ्नै पहलमा भएको उनको भनाइ छ। दमकमा घरघरमा खानेपानी पुगेको, हजारौँ पुल निर्माण भएको तथा विद्युत् विस्तारमा उल्लेखनीय प्रगति भएको दाबी उनले भने ।
सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नेपालले विश्वस्तरको प्रयोग गरिरहेको उल्लेख गर्दै उनले सुरुङ मार्ग, रेल मार्ग तथा भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत करिब साढे आठ लाख घर निर्माण गरिएको जानकारी दिए। साथै, एकैपटक ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरिएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारिएको दाबी गरे।
“नेकपा एमाले काम गर्ने पार्टी हो,” उनले भने, “हामीले देशको मुहार फेर्ने काम गरेका छौँ।”