काठमाडौं । आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले आज (बिहीबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ।
पहिलो खेलमा विश्वविजेता तथा बलियो टेष्ट राष्ट्र इंग्ल्याण्डसँग नेपाल चार रनले पराजित भएको थियो। १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएर लक्ष्य नजिक पुग्दा पनि जित निकाल्न सकेन। यद्यपि, इंग्ल्याण्डविरुद्धको साहसिक प्रदर्शनले नेपालको खेल विश्वभर चर्चामा छ।
इटाली भने समूहको तुलनात्मक रूपमा कमजोर टिम मानिन्छ। फुटबलमा गर्विलो इतिहास बोकेको इटालीले सन् २०२६ को विश्वकपमार्फत पहिलोपटक टी–२० विश्वकपमा डेब्यु गरेको हो। तीनपटक विश्वकप खेलिसकेको नेपालसँग तुलना गर्दा इटाली नयाँ टोली हो। यस विश्वकपमा दुवै टिमले पहिलो खेल गुमाएका छन्—नेपाल इंग्ल्याण्डसँग चार रनले पराजित हुँदा इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। त्यसैले दोस्रो खेल दुवैका लागि ‘गर या मर’को अवस्थाजस्तै बनेको छ।
नेपाल र इटालीबीच हालसम्म कुनै पनि आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल भएको छैन। आजको खेल दुवै राष्ट्रका लागि पहिलो भेट हुनेछ। इटाली हाल आईसीसी टी–२० वरीयतामा २७औँ स्थानमा छ।
नेपालले टी–२० अन्तर्राष्ट्रियमा उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ। सन् २०२५ सेप्टेम्बरमा शारजहाँमा भएको तीन खेलको शृंखलामा नेपालले पूर्ण सदस्य राष्ट्र वेष्ट इण्डिजलाई २–१ ले पराजित गरेको थियो। टी–२० वरीयतामा सातौँ स्थानमा रहेको वेष्ट इण्डिजमाथिको उक्त ऐतिहासिक जितले नेपालको क्षमता प्रमाणित गरेको थियो।
नेपालले सन् २०१४ मा बंगलादेशमा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। दोस्रो सहभागिताका लागि १० वर्ष कुर्नुपरेको नेपालले सन् २०२४ को संस्करणमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध प्रतिस्पर्धात्मक प्रदर्शन गरेको थियो। २०१४ कै विश्वकपमा नेपालले टेष्ट राष्ट्र अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो भने अघिल्लो संस्करणमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो।
यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरण पार गर्न सकेको छैन। समूह ‘सी’मा नेपालसहित दुईपटकको विश्व विजेता वेष्ट इण्डिज, एकपटकको विजेता इंग्ल्याण्ड, स्कटल्याण्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी वरीयताका आधारमा स्कटल्याण्डले स्थान पाएको हो।
नेपालले समूह चरणअन्तर्गत फागुन ३ गते वेष्ट इण्डिज र फागुन ५ गते स्कटल्याण्डसँग खेल्ने तालिका छ। दोस्रो खेलमा जित निकाल्दै सुपर चरणको सम्भावना जीवित राख्ने लक्ष्यसहित नेपाल मैदान उत्रनेछ।