काठमाडौँ । आज विज्ञानमा महिला तथा बालिकाहरूको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइएको छ। महिला तथा बालिकाहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित (एसटीईएम) क्षेत्रमा समान पहुँच र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै दिवस मनाइएको हो।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५ डिसेम्बर २२ मा प्रस्ताव पारित गरी प्रत्येक वर्ष फेब्रुअरी ११ लाई यस दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसङ्घका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा लामो समयदेखि लैङ्गिक असमानता विद्यमान छ। महिलाहरूले उच्च शिक्षामा उल्लेखनीय प्रगति गरे पनि यी क्षेत्रमा उनीहरूको प्रतिनिधित्व अझै न्यून रहेको राष्ट्रसङ्घले जनाएको छ।
लैङ्गिक समानता राष्ट्रसङ्घको प्रमुख एजेन्डामध्ये एक रहेको उल्लेख गर्दै महिला तथा बालिकाको सशक्तीकरणले आर्थिक विकास र दिगो विकासका लागि २०३० कार्यसूचीका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने बताइएको छ।
महिलासम्बन्धी राष्ट्रसङ्घीय आयोगले सन् २०११ मा सम्पन्न ५५औँ अधिवेशनमा शिक्षा, तालिम तथा विज्ञान र प्रविधिमा महिला तथा बालिकाको पहुँच विस्तार तथा पूर्ण रोजगारी र सम्मानजनक काममा समान अवसर सुनिश्चित गर्ने विषयमा सहमत निष्कर्षसहित प्रतिवेदन पारित गरेको थियो।
त्यसैगरी, सन् २०१३ मा महासभाले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी प्रस्ताव पारित गर्दै सबै उमेर समूहका महिला तथा बालिकालाई विज्ञान र नवप्रवर्तन क्षेत्रमा पूर्ण तथा समान पहुँच दिनु लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अपरिहार्य भएको उल्लेख गरेको थियो।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज जारी गरेकाे वक्तव्यमा विज्ञान तथा प्रविधिमा महिला तथा बालिकाको पूर्ण र समान सहभागिता सुनिश्चित गर्न विश्व समुदायलाई आह्वान गरिएकाे छ ।