काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सांसद निरुदेवी पाललाई पेस्तोल तेर्स्याउनेको ‘स्केच’ बनिसकेको बताएका छन्। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा गृहमन्त्री थापाले यस्तो बताएका हुन्।
थापाले भने, ‘‘सांसद पालले दिएको हुलियाका आधारमा स्केच बनिसक्यो। प्रहरीले अपराधी खोज्दैछ।’’ गत साउन १५ गते बेलुका नेकपा सांसद निरुदेवी पाललाई अज्ञात समूहले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन्।
घटनाका सम्बन्धमा प्रहरीका विभिन्न निकायसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले पनि अनुसन्धान गरेको थियो। तत्कालीन एसएसपी विश्वराज पोखरेलले परिसरका तत्कालीन एसपी रामदत्त जोशीको संयोजकत्वमा ३ सदस्यीय अनुसन्धान टोली गठन गरेका थिए।
पोखरेल हाल डीर्आइजी छन् भने जोशी एसएसपी। कोठाबाट दूध किन्न जाँदा आफूमाथि पेस्तोल तेर्स्याएर अज्ञात व्यक्तिले मोबाइलसमेत खोसेर लगेको सांसद पालले भोलिपल्टमात्र संसदीय समितिमा खुलासा गरेकी थिइन्।
‘‘म दूध किन्न बजार गएकी थिएँ। घर फर्कंदा अपरिचित व्यक्तिले बाटो छेके र मेरो कञ्चटमा पेस्तोल तेर्स्याउँदै भोलिको बैठकमा नजानू। बैठकमा गए ‘तेरो बाउ खड्गे’ ले पनि तँलाई जोगाउन सक्दैन भन्दै मेरो मोबाइल पनि लग्यो,” उनले संसदीय समितिमा भनेकी थिइन्।
घटना भएको राति भने उनले प्रहरीलाई खबर गरेकी थिइनन्। घटनाका सम्बन्धमा अहिलेसम्म कोही पनि पक्राउ परेको छैन। सांसद पालले समेत पछिल्लो दिनमा आफूलाई पेस्तोल ताक्ने व्यक्तिको खोजबिन कहाँ पुग्यो भनेर चासो नदिएको प्रहरी स्रोत बताउँछ।