काठमाडौँ । सरकारले आजदेखि देशभर कक्षा ६ मा अध्ययनरत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार आजदेखि फागुन १५ गतेसम्म देशभरका कक्षा ६ मा पढ्ने किशोरी तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइनेछ।
यसै अभियानअन्तर्गत गत वर्षको एचपिभी खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत किशोरी र ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोप लगाइने शाखाले जनाएको छ। हिमाली तथा हिउँ पर्ने जिल्लामा भने यो अभियान चैत महिनामा सञ्चालन हुनेछ।
पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण भएकाले त्यसको रोकथामका लागि एचपिभी खोप आवश्यक रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। कक्षा ६ मा अध्ययनरत किशोरीलाई विद्यालयमै र अन्य किशोरीलाई नजिकका खोप केन्द्रमार्फत खोप प्रदान गरिनेछ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमले एचपिभी खोप शतप्रतिशत प्रभावकारी रहेको उल्लेख गर्दै सबै लक्षित किशोरीलाई खोप लगाउन आग्रह गरेका छन् । उनका अनुसार नेपालमा हरेक दिन औसतमा छ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ, जसमा चार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ। तर यो क्यान्सर एचपिभी खोपबाट रोक्न सकिने रोग हो।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन गरेको अभियानमार्फत कक्षा ६ देखि १० सम्मका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई एचपिभी खोप लगाएको थियो। यस वर्षको २० दिने अभियानमा करिब तीन लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य रहेको शाखाले जनाएको छ।
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको छ भने क्यान्सरका कारण महिलाको मृत्यु हुनेमध्ये यो क्यान्सर पहिलो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ।