झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई स्वाभाविक र सकारात्मक रूपमा लिनुपर्ने बताएका छन् ।
गृहजिल्ला झापा आगमनका क्रममा हिजाे चन्द्रगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले युवापुस्तालाई निरुत्साहित गर्नु गलत हुने धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले सिक्ने चाहना र राजनीतिक रूपमा सक्रिय हुने आकाङ्क्षा राख्ने युवापुस्ताले ‘सिक्छु, राजनीतिमा लाग्छु’ भन्नु कुनै पनि हिसाबले गलत नभएको स्पष्ट पारे। उनले राजनीतिमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अनुभव र ऊर्जाको संयोजनबाट मात्रै राजनीतिक संस्कार सुदृढ हुनसक्ने बताए ।
“अनुभव र ऊर्जाको संयोजनले मात्र राजनीति परिपक्व र जिम्मेवार बन्छ,” अध्यक्ष ओलीले भने। झापा क्षेत्र नं. ५ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिएका अध्यक्ष ओली हवाईमार्ग हुँदै झापा आइपुगेका हुन् ।
राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै उनले आफूसँग प्रतिस्पर्धा गर्न कोही अगाडि आउँछ भने त्यसलाई सधैँ खुलेर स्वीकार गर्ने बताए। स्वस्थ प्रतिस्पर्धा र युवाको सक्रिय सहभागिताले लोकतान्त्रिक अभ्यासलाई अझ सबल र परिपक्व बनाउने विश्वास अध्यक्ष ओलीले व्यक्त गरे।