काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक महिना केही दिन मात्र बाँकी रहँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरू मतदाता रिझाउन सक्रिय छन् भने सम्भावित नतिजाबारे लेखाजोखा र विश्लेषण पनि सुरु भइसकेको छ ।
विघटित संसद् पुनःस्थापनाको पक्षमा रहे पनि अन्तिम चरणमा निर्वाचन प्रक्रियामा सहभागी भएको नेकपा एमालेले आसन्न निर्वाचनको रोचक विश्लेषण सार्वजनिक गरेको छ । एमालेले परम्परागत प्रतिस्पर्धी नेपाली कांग्रेस नै आगामी निर्वाचनमा पनि मुख्य प्रतिस्पर्धी रहने दाबी गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरे । उनका अनुसार विगतमा २७ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको एमालेको मत यसपटक ३० देखि ३४ प्रतिशतसम्म पुग्ने अनुमान छ । मत विभाजनका कारण एमाले बहुमत वा सबैभन्दा ठूलो दल बन्ने सम्भावना उच्च रहेको उनको भनाइ छ ।
महासचिव पोखरेलले नेपाली कांग्रेसलाई प्रचार कम भएकै आधारमा कमजोर ठान्न नहुने स्पष्ट पार्दै कांग्रेसको संगठनात्मक आधार बलियो रहेको उल्लेख गरे। ‘यो देशको सबैभन्दा पुरानो पार्टी भएकाले तल्लो तहसम्म कांग्रेसको संगठन मजबुत छ । साइलेन्ट मतदाताको ठूलो हिस्सा कांग्रेसकै पक्षमा रहने सम्भावना हुन्छ,’ उनले भने । हालै सम्पन्न राष्ट्रियसभा निर्वाचनको नतिजाले पनि कांग्रेसको आधार बलियो रहेको पुष्टि गरेको उनको दाबी छ ।
एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभावबारे पनि विश्लेषण सार्वजनिक गरेको छ । महासचिव पोखरेलका अनुसार अघिल्लो निर्वाचनको तुलनामा रास्वपाको प्रभाव सहरी क्षेत्रमा घट्दै गएको छ भने ग्रामीण क्षेत्रमा केही बढेको देखिन्छ । काठमाडौंजस्ता सहरमा रास्वपाको प्रारम्भिक उत्साह कमजोर हुँदै गएको उहाँको दाबी छ । सहकारी ठगीसम्बन्धी मुद्दा, संगठनात्मक कमजोरी र युवा मत अन्य दिशामा जान सक्ने सम्भावनाका कारण रास्वपाको सहरी मत घट्ने अनुमान गरिएको उनले बताए ।
सामाजिक सञ्जालमा देखिने भीड चुनावी नतिजाको निर्णायक नहुने स्पष्ट पार्दै पोखरेलले भने, ‘डेढ लाख मतदाता भएको क्षेत्रमा चार–पाँच हजारको भिड नै निर्णायक हो भन्ने मान्यताले चुनावको अर्थ रहँदैन ।’
पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेपाललाई भारत र चीनविरुद्ध प्रयोग गर्ने अखडाका रूपमा प्रयोग गर्ने षड्यन्त्र भइरहेको आरोप पनि लगाए । उहाँले भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन कठपुतली सरकार बनाउने प्रयास भइरहेको भन्दै एमाले त्यस्ता षड्यन्त्रविरुद्ध योजनाबद्ध रूपमा क्रियाशील रहेको बताए । ‘हाम्रा दुवै छिमेकी भारत र चीनविरुद्ध शक्ति राष्ट्रहरूको चलखेल गर्ने अखडाका रूपमा नेपालको भूमि प्रयोग गर्न दिँदैनौँ,’ उनले भने ।
झापा–५ निर्वाचन क्षेत्रबारे बोल्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको जित सुरक्षित रहेको दाबी गरे । झापा–५ का मतदाता राजनीतिक रूपमा सचेत रहेको भन्दै सामाजिक सञ्जालको हल्लाले चुनावी नतिजा बदल्न नसक्ने उनको भनाइ छ ।
आसन्न निर्वाचनलाई ‘जलाउने’ र ‘बनाउने’ शक्तिबीचको लडाइँको रूपमा चित्रण गर्दै महासचिव पोखरेलले पपुलिजम र एनार्किज्मका नाममा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको टिप्पणी गरे। ‘जेन–जी’ आन्दोलनलाई अपहरण गरी विदेशी शक्तिले देशविरोधी उद्देश्य पूरा गर्न खोजेको आरोप पनि उनले लगाए ।
यस्तै, एमाले सचिव महेश बस्नेतले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गर्दै कडा टिप्पणी गरे । उनले विदेशी स्वार्थका लागि प्रयोग हुने नेताहरूप्रति युवापुस्ताले सचेत हुनुपर्ने धारणा राखे।
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे स्पष्ट धारणा सार्वजनिक गर्न चुनौती दिए। नयाँ भनिएका दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेन्डा नरहेको आरोप लगाउँदै उनले राष्ट्रिय मुद्दामा स्पष्ट जवाफ दिन आग्रह गरे।
एमाले सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे ।
भदौ २३ गतेको जेन—जी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उनले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताए। २४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उनको भनाइ छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गरे ।
उनले भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गरे। उनले मुलुकमा आगजनी र लुटपातमार्फत भएको क्षतिको जिम्म लामिछानेसँगै बालेन्द्र साहले लिनुपर्ने जिकिर गरे ।