काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) सहभागी भएका सुदूरपश्चिमका चुनावी कार्यक्रमहरूमा भीडको फाइदा उठाउँदै सुनको सिक्री लुट्ने पेशेवर गिरोह सक्रिय भएको पाइएको छ।
बुधबारदेखि यता कञ्चनपुरको झलारी र अछामको साँफेबगरमा गरी कम्तीमा चार जनाको सुनको सिक्री लुटिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरमा बुधबार मनोज चौधरी र सञ्जीव मल्ल लगायतका व्यक्तिको सिक्री लुटिएपछि प्रहरीले सीसीटीभी फुटेजको आधारमा खोजी सुरु गरेको थियो।
यसैक्रममा बिहीबार अछामको साँफेबगर–४ नजिक आयोजित चुनावी भेटघाट कार्यक्रममा एक महिलाको सिक्री लुट्ने प्रयास गर्दै गर्दा पर्सा घर भएका ३१ वर्षीय उमेस रायलाई रङ्गेहात पक्राउ गरिएको छ।
प्रहरीका अनुसार रायको साथबाट एक थान सुनको सिक्री बरामद गरिएको छ भने अछाममा मात्रै ६ तोलाभन्दा बढी सुन चोरी भइसकेको छ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्स्पेक्टर दानसिंह भण्डारीले चार जनाको सिक्री लुटिएको र अर्को लुट्ने क्रममा एक जनालाई पक्राउ गरिएको जानकारी दिए।
बालेन सहभागी कार्यक्रममा हुने ठुलो भीडलाई लक्षित गरी गिरोह पछि–पछि हिँड्ने गरेको पाइएको छ। सीसीटीभी फुटेजमा अन्य व्यक्तिहरू पनि संलग्न रहेको देखिएको र बाँकी सदस्यहरूको खोजी भइरहेको जनाइएकाे छ ।