बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हो: पूर्वराष्ट्रपति भण्डारी

शुक्रबार, माघ १६ २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै सहिदप्रतिको सच्चा सम्मान हुने बताएकी छन् ।

सहिद दिवस, ०८२ का अवसरमा आज जारी गरेको सन्देशमा उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय स्वाधीनता संरक्षणका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना पूरा गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित नराख्नुपर्ने जोड दिइन् ।

उनले सामाजिक सञ्जालमा भनेकी छन्, “सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसँग जोड्दै अघि बढाउनु हाम्रो साझा दायित्व हो। उक्त आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्न सहिद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दछु।”

यसै अवसरमा आज देशभरि विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ।