शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

ओखलढुङ्गामा राई दम्पतीको बीभत्स हत्या

मंगलबार, माघ १३ २०८२

ओखलढुङ्गा । चिशङ्खुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना नबित्दै फेरि राई दम्पतीको हत्या भएको छ। सोही वडाको बोहोरे टोलका करिब ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीय धर्मपत्नी चन्द्रमाया राईको गएराति हत्या भएको स्थानीय स्रोतले जनाएको छ।

स्थानीयवासीका अनुसार पसल सञ्चालन गर्दै आएका दम्पतीको हत्या लुटपाटपछि गरिएको हुन सक्ने सम्भावना छ। जिल्ला प्रहरी कार्यालयका अनुसार घरको दोस्रो तलाको सुत्ने कोठामा श्रीमान् चन्द्रविक्रमको शव खाटमा सिरक ओढिएको अवस्थामा र श्रीमती चन्द्रमायाको शव खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृत भेटिएको हो। मृत्युको खबर आज बिहान करिब ७ः४० बजे प्रहरी चौकी निशङ्खेमा प्राप्त भएको थियो। प्रहरी नायब उपरीक्षक मदन केसीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा गरिएको र थप अनुसन्धानका लागि प्रहरी परिचालन भएको जानकारी दिए ।

गत पुस १५ गते भदौरेको गैरीगाउँमा मगर दम्पतीको लुटपाटपछि हत्या गरिएको थियो। त्यसअघि असोज २६ गते सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल (कार्की) को पनि हत्या भएको थियो। हत्यामा संलग्न चारजना युवा—मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।

त्यही ठाउँमा फेरि उस्तै प्रकृतिका हत्या हुनुले स्थानीयवासीमा त्रास फैलाएको छ। शृङ्खलाबद्ध हत्याका घटनाले सुरक्षा चुनौती थपेको र नागरिकको सुरक्षा जोखिम बढाएको भन्दै स्थानीयवासीले दोषीलाई तत्काल पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीसमक्ष आग्रह गरेका छन्।