काठमाडौं । नेपालका व्यापारीहरु कतिसम्मका छन् भन्ने पाम तेलको कारोबारले देखाउँछ । नेपालमा पाम तेलको उत्पादन हुँदैन । कतिले त पामको रुख पनि देखेका छैनन् होला । तर नेपालमा पाम तेलको आयात उच्च छ । त्यो तेल तेस्रो मुलुकबाट किनेर भारतमा बेचिन्छ ।
यो पटक विराटनगरबाट मात्रैसाढे चार अर्ब बराबरको पाम तेल भारत निकासी भएको छ । साफ्टा सम्झौताको फाइदा उठाउँदै व्यवसायीले गत आर्थिक वर्षको सुरुदेखि शून्य प्रतिशत भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गरेका हुन् ।
विराटनगर भन्सार कार्यालयका अनुसार अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको ४१ हजार ३५७ टन पाम तेल गत आर्थिक वर्षमा भारत निकासी गरिएको छ । भारतीय बजेटले स्वदेशी उद्योगको संरक्षण गर्न खाने तेलको भन्सार महसुल अत्यधिक वृद्धि गरेको छ । यसबाट समुद्रपारका मुलुकबाट हुने खाने तेलको आयात भारतमा महँगो परेको छ ।
तर नेपालबाट शून्य प्रतिशत भन्सार महसुलमा पाम तेल त्यसतर्फ निकासी हुनसक्ने देखेपछि सबैभन्दा पहिले केएल दुगड समूहले स्वस्तिक आयल इन्डस्ट्रिजबाट पाम तेलको निकासी सुरु गरेको थियो । यसपछि मुन्दडा ग्रुपको बाबा भेजिटेबल, मुरारका समूहको श्रीराम रिफाइनरी, घनश्याम काबराको क्वालिटी रिफाइनरी र शारडा–राठी समूहको पशुपति खाद्यतेल उद्योगले पाम तेलको निकासी गरिरहेका छन् ।
भारतमा खाने तेलको भन्सार महसुल ४५ प्रतिशत बनाइएको छ । तर साफ्टा सम्झौताअन्तर्गत तोकिएका सामग्री नेपालबाट भारत निकासी गर्दा भन्सार महसुल शून्य प्रतिशत छ । उक्त सामग्रीमा पाम तेल पनि पर्छ । नेपालबाट पाम तेल निर्यात गर्दा भारतमा वस्तु तथा सेवा कर (जिएसटी)बापत १२ प्रतिशत तिर्नुपर्छ ।