शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दाङमा सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

बिहिबार, माघ ८ २०८२

दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेलो लागेका जस्ता देखिने गरेका छन् ।

दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालका रूख पातविनाका छन् ।

यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा पनि सालका रूखमा यस्तै समस्या छ । यहाँका सामुदायिक वनमा सालका रूख यसरी सुकेको जस्तो देखिँदा स्थानीयहरू चिन्तित छन् ।

‘विगतका वर्षहरूमा यस्तो समस्या थिएन, यस वर्ष सालका रूख सुकेका जस्ता छन्’, तुलसीपुर–३ का वडाध्यक्ष वीरबहादुर विकले भने, ‘यसले हामीलाई चिन्तित बनाएको छ । किन यस्तो भयो होला भनेर बुझ्दै छौँ ।’

डिभिजन वन कार्यालय दाङका वरिष्ठ वन अधिकृत भक्तबहादुर चौधरीले यस वर्ष रूखमा यस्तो महामारी देखिएको बताए ।

‘दाङका वनमा सालका रूखमा यस्तो महामारी देखिएको छ । रूखहरू डढेलो लागेको जस्तो देखिएका छन्, यसलाई नियन्त्रण गर्न निकै कठिन पनि छ’, उनले भने ।

वरिष्ठ वन अधिकृत चौधरीका अनुसार ‘मथ’ पुतलीले पात खाइदिँदा समस्या आएको हो । यसले रूखलाई पनि असर गर्ने उनको भनाइ छ ।

‘यहाँका रूखमा चैत–वैशाखमा झैँ पात झरेको जस्तो देखिएका छन्, पानी प¥यो भने त पलाउँछ’, उनले भने, ‘पटक–पटक यस्तै भइरह्यो भने साना रूखहरू सुक्छन्, ठूला रूखमा पनि वृद्धिमा ह्रास आउँछ ।’