९ साउन, काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीहरु साइकल चढेर कार्यालय जाने भएका छन् । मुख्यमन्त्री कार्यालयले १० वटा साइकल किनेको छ ।
वातावरणमैत्री शहरको पहिचान दिने उद्देश्यसँगै इन्धन खपत कम गर्न कर्मचारीले साइकल चढ्ने निर्णय गरिएको प्रमुख सचिव केवल भण्डारीले बताए ।
‘इन्धन पनि खपत कम हुने, वातावरण प्रदुषण पनि कम हुने भएकाले हामीले साइकल चढ्ने निर्णय गरेका हौं,’ उनले भने, ‘कार्यालयबाट मोटरसाइकल किन्ने कुरा भएको थियो, मैले मोटरसाइकलभन्दा पनि साइकल किनौं भनेर आग्रह गरें ।’
उनका अनुसार अब मन्त्रिपरिषद् कार्यालयमा १४ वटा साइकल भएको छ । ४ साइकल पुराना हुन् भने १० वटा यही साता किनिएको हो । कर्मचारीले साइकल पालैपालो प्रयोग गर्ने सल्लाह भएको छ ।
‘नजिक घर हुने कर्मचारी साइकलमा आउने जाने भनेर आग्रह गरिएको छ,’ उनले भने, ‘बरू दिउँसो कार्यालयबाट अन्य काममा जाँदा मोटर चढे भयो, त्यसका लागि अहिले हामीसँग भएका साइकल कसरी पालो गर्ने भन्नेबारे पनि सल्लाह भइरहेको छ ।’
कार्यालयले ३० हजार दरले १० साइकल किन्न ३ लाख रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले ५० कर्मचारी कार्यरत छन् ।
वीरेन्द्रनगर शहरलाई साइकलमैत्री बनाउने अभियान जारी छ । केही समयअघि विश्व साइकल दिवसको अवसर पारेर ‘कर्णाली राइडर्स’ क्लब पनि गठन गरिएको छ । उक्त क्लबले वीरेन्द्रनगरमा साइकल राइड गर्ने गरेको छ ।
वीरेन्द्रनगरलाई विश्वका विकसित मुलुकको जस्तै व्यवस्थित साइकल शहर बनाउन सकिने धेरै सम्भावना रहेको अभियन्ता माधव चौलागाईले बताए । वीरेन्द्रनगरमा धेरै जसो संरचनाहरू निर्माण हुन बाँकी छन् ।
ती संरचना साइकलमैत्री बनाउने गरी सरोकारवाला लाग्नु पर्ने उनको भनाइ छ । प्रदेश सरकारले पनि वीरेन्द्रनगरलाई साइकलमैत्री शहर बनाउन बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट प्रदेश सरकारले वीरेन्द्रनगरको सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल लेन बनाउन २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उक्त सडकमा साइकल लेन बनाउन अध्ययन गर्ने तयारी भएको छ ।