बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्थानीय पुँजीलाई उद्यमशील लगानीमा रूपान्तरण गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

बिहिबार, माघ १ २०८२

म्याग्दी । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय पुँजीलाई उद्यमशील क्षेत्रमा लगानीको रूपमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यमविकास समितिको आयोजनामा बेनीमा बुधबारदेखि सुरु भएको ‘११औँ माघे सङ्क्रान्ती मेला’, खाना महोत्सव तथा कृषि मेलाको उद्घाटन गर्दै अध्यक्ष ढकालले घरेलु पुँजीको प्रभावकारी उपयोगबाटै ठूला आयोजना सम्पन्न गर्न सकिने उल्लेख गरे। “सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माण गर्न सके घरेलु पुँजीबाटै ठूला परियोजना अघि बढाउन सकिन्छ,” उनले भने।

पर्यटन, जलविद्युत्, खानी र लघुउद्यमलगायतका क्षेत्रमा म्याग्दीमा लगानीको राम्रो सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले स्थानीय उद्यमी–व्यवसायीले सामूहिक रूपमा उद्यमशील योजना अघि बढाएमा आफूले पनि लगानी गर्न तयार रहेको स्पष्ट पारे।

मेला–महोत्सवले स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन र तिनको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। महिला उद्यमविकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठका अनुसार माघ ३ गतेसम्म सञ्चालन हुने खाना महोत्सवका क्रममा विभिन्न प्रतियोगितासमेत आयोजना गरिनेछ।