एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलसहितका नयाँ शक्तिहरूलाई पानीका फोकाको संज्ञा दिएका छन् ।
एमाले बागमती प्रदेश र बागमती सम्पर्क कमिटीको संयुक्त भेलालाई काठमाडौंमा सोमबार सम्बोधन गर्दै बस्नेतले नयाँ दलहरूको उदय क्षणिक भएको बताउँदै एमालेलाई कसैले रोक्न नसक्ने जिकिर पनि गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका भित्रियामध्ये एक बस्नेतले नयाँ शक्तिहरू देशको ठोस राजनीतिक विचार र सङ्गठनबाट नभई जनताको निराशामा टेकेर उदाएको दाबी गरे ।
‘यी रवि, बालेनहरू पानीका फोका जस्तै हुन्,’ उनले भने, ‘यिनीहरू सामाजिक सञ्जालको भ्रम र विदेशी शक्तिले खडा गरेका क्षणिक पात्र मात्रै हुन्। यी सडेका, गलेका र कुहिएका अनुभव हुन्।’
बस्नेतले सामाजिक सञ्जालको भर्चुअल दुनियाँ र देशको धरातलीय यथार्थ भिन्न रहेको बताउँदै एमाले कार्यकर्ताहरूलाई भ्रममा नपरी आफ्नो अभियानमा लाग्न पनि अपील गरे ।
बस्नेतले निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउनबाट रोक्न विदेशी शक्तिहरूले नयाँ दल र पात्र खडा गरेको दाबी गरे ।