काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुलाएसँगै शुक्रबारदेखि आवेदन प्रक्रिया सुरु भएको छ ।
आवेदन खुलाएकै पहिलो दिन काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा आवेदकहरूको लामो लाइन लागेको छ । बिहानैदेखि विभिन्न उमेर समूहका युवायुवतीहरू फारम भर्न पुगेका छन् ।
आवेदकहरूसँगको कुराकानीमा अधिकांशले ४० दिनको यो अवधिमा केही आम्दानी हुने र नयाँ अनुभव बटुल्ने आशाले आवेदन दिएको बताए । कतिपयले नेपालको बेरोजगारी समस्यालाई जोड्दै यो छोटो अवधिको रोजगारीले पनि राहत मिल्ने धारणा राखे ।
स्वयम्भुबाट आएका दिपक पुन मगरले आफ्नो क्याफे व्यवसाय हुँदाहुँदै पनि चुनावी अनुभव लिन र अतिरिक्त आम्दानीका लागि आएको बताए । उनले भने, ‘४० दिनको लागि हो, चुनाव हेरौं र अनुभव होस् भन्ने लाग्यो । साथीहरू ग्रुपमा आएका छौं ।’