तनहुँ । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा पुस २४ गतेदेखि सञ्चालन हुने छैँटौँ तनहुँ सांस्कृतिक महोत्सवअन्तर्गत तीन जातिका नमुना घर निर्माण गरिएको छ। महोत्सवलाई थप आकर्षक, मौलिक र सांस्कृतिक बनाउन तीन जातिका परम्परागत नमुना घर निर्माण गरिएको हो।
व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा आयोजना हुने महोत्सवको मुख्य आकर्षणका रूपमा महेन्द्र शालिक रहेको पार्कमा मगर, दरै र कुमाल समुदायका नमुना घर निर्माण गरिएको महोत्सव संयोजक एवं महासङ्घका अध्यक्ष सनम तामाङले जानकारी दिए। उनका अनुसार यी नमुना घरमार्फत जनजातिहरूको जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानलाई उजागर गर्ने उद्देश्य राखिएको छ।
जिल्लामा १३ भन्दा बढी आदिवासी जनजाति समुदायको बसोबास रहेपनि स्थानको अभावका कारण तीन समुदायका मात्रै नमुना घर निर्माण गरिएको उनले बताए।