बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री खरेल

शनिबार, पुष १९ २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन्।

शनिबार ललितपुरको पाटनमा आयोजित निर्वाचन २०८२ लक्षित गल्ली एप उद्घाटन कार्यक्रममा बोल्दै उनले अब युवा पुस्ता राजनीतिमा अगाडि आएको बताउँदै मुलुक परिवर्तनको बाटोमा अघि बढिरहेको बताए।

उनले भने,‘देशमा चुनाव फागुन २१ मा हुँदैछ। यो चुनावमा यहाँहरू सबैलाई म आग्रह गर्न चाहन्छु। कृपया यस पटक हामीले गल्ती नगरौँ। राम्रो नेता र राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ। अब मुलुक परिवर्तनको बाटोमा अघि बढ्दैछ। अब युवा पुस्ता राजनीतिमा अगाडि आउँदैछ र देशको अनुहार बदलिँदै छ। यो बद्लिने कुरामा यहाँहरू सबैको साथको अपेक्षा सरकारले राखेको छ। र यो सरकार समयमै चुनाव गराउने कुराहरूमा निष्पक्ष निर्वाचन गराउने कुरामा, धाँधलीरहित निर्वाचन गराउने कुरामा प्रतिबद्ध छ।’

त्यस्तै उनले जेनजीको आन्दोलन सफल भएर पनि आफूले सत्ताको माग नगरेको भन्दै उनीहरुको माग सुशासनको मात्र रहेको बताए। जेनजीहरुले मागेको सुशासनलाई आफूहरुले पछ्याउने कोशिस गरिरहेको बताउँदै मन्त्री खरेलले जेनजी आन्दोलनमा बगेको रगत खेर जान नदिने अठोट गरे।

‘जेनजीको आन्दोलन सफल भयो। जेनजीले हामीलाई सरकारमा पठायो। उ सरकारमा गएन। सत्ता मागेन र हामीलाई फेरी भन्यो सुशासन देऊ। हामी अहिले त्यो पछ्याउने कोशिस गरिरहेको छौं। जुन निस्वार्थ रगत जेनजी आन्दोलनमा बगाएको छन् त्यो खेर जान दिनुहुँदैन,’उनले भने।