बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कुलमान रास्वपा र्गसँगै गुमाए पार्टी र चुनाब चिन्ह, त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर

मंगलबार, पुष १५ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको हो भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले साक्षीका रूपमा हस्ताक्षर गर्नुभएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा भएको सहमतिअनुसार पार्टीको केन्द्रीय नेतृत्व संरचनामा रास्वपा सभापति रवि लामिछाने केन्द्रीय सभापति र कुलमान घिसिङ उपसभापति रहने तय भएको छ । यस्तै, अन्य उपसभापतिमा डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ ।

सहमतिपत्रअनुसार एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिन्ह ‘घण्टी’ कायम रहनेछ । रास्वपाको मूल सिद्धान्त, नेतृत्व र चुनाव चिन्हअन्तर्गत लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत, परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई समेत सहकार्यका लागि आह्वान गरिने उल्लेख छ ।

दुवै पार्टीले नेपाली समाजको समतामूलक उन्नतिप्रति प्रतिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र समतामूलक शासन प्रणाली स्थापित गर्न आवश्यक रहेको स्वीकार गरेका छन् । नयाँ राजनीतिक शक्ति निर्माणका लागि संयुक्त प्रयास गर्ने प्रतिबद्धता पनि सहमतिपत्रमा समेटिएको छ ।