बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अमेरिकालाई साउदीको सहयोग, इरान–अमेरिका तनाव थप बढ्ने

शनिबार, साउन ४ २०७६

काठमाडौं । साउदी अरबले इरानको मामिलामा अमेरिकालाई सहयोग गर्न कदम चालेपछि खाडी क्षेत्रको तनाव थप जटिल हुने विश्लेषण हुन थालेको छ ।  साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिएपछि यस्तो अवस्था उत्पन्न भएको हो । 

साउदी प्रेस एजेन्सीले दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताएका छन् ।

 

अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुवै देशका सुरक्षा स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानका कारण सिर्जित खतराबाट अमेरिकी स्वार्थको रक्षा गर्न अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न लागिएको जनाएको छ ।

 

खाडी क्षेत्रमा पानीजहाज हिँड्ने सामुद्रिक मार्गको विषयमा इरानसँग अमेरिकाको तनाव चुलिएको बेला अमेरिकाले सामरिक अर्थ राख्नेगरी अमेरिकी सेना रियाद ल्याउन लागेको हो ।

 

सिन्ह्वाका अनुसार अमेरिकाले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट आफू छुट्टिएको घोषणा गरेपछि दुई देशबीच तनाव बढ्न थालेको छ ।

 

इराक युद्धपछि साउदी अरबले सन् २००३ देखि अमेरिकी सेना आफ्नो देशमा राखेको थिएन । त्यसअघि इराकले कुवेतमा आक्रमण गरेपछि सन् १९९१ मा साउदी अरबमा अमेरिकी सेना बस्न थालेका थिए ।