काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा सहभागी हुन जनता र राजनीतिक दल दुवैको स्पष्ट चाहना रहेको बताएका छन्। यद्यपि, केही तत्वले त्यो चाहनालाई प्रभावित पार्ने प्रयास गरिरहेको उनको भनाइ छ।
नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिरबार सम्बोधन गर्दै संयोजक दाहालले मुलुकलाई थप अफ्ठ्यारोमा पर्न नदिन घोषणा भइसकेको मितिमै निर्वाचन हुनुको विकल्प नरहेको स्पष्ट गरे। “घोषित निर्वाचन नै अहिलेको सबैभन्दा सहज विकल्प हो। जनता निर्वाचनका लागि तयार भइरहेका छन्,” उनले भने, “निर्वाचन बिथोल्ने वा निर्वाचन प्रक्रियामा अघि बढ्ने जनता र राजनीतिक दलको चाहनालाई कसैले भ्रमित नगरोस्।”
संयोजक दाहालले निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने जिम्मेवारी सरकारकै भएको उल्लेख गर्दै संसद् पुनःस्थापनाबारे फैलाइएका हल्लालाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिए। “साँच्चै फागुन २१ गते निर्वाचन हुन्छ कि हुँदैन, संसद् पुनःस्थापना होला कि निर्वाचन होला भन्ने प्रश्न मानिसहरूको मनमा उठिरहेको छ,” उनले बताए, “तर निर्वाचन नै सहज बाटो हो, निर्वाचनमार्फत नै देशलाई नयाँ दिशा दिन सकिन्छ।” संसद् पुनःस्थापनाको बाटो सहज नभएको उहाँको भनाइ थियो।
संयोजक दाहालले भ्रष्टाचारविरुद्ध अभियान चलाउने, सुशासनको पक्षमा लड्ने तथा उत्पीडित जाति, वर्ग, क्षेत्र र समुदायको पहिचान र अधिकारका लागि योगदान गर्ने शक्ति नै जेन–जी पुस्ताको अभिभावक र प्रतिनिधि हुने उल्लेख गरे।
देशको वाम इतिहासमा नयाँ चरणको बृहत् एकताको पहल भइरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे ।