शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारले जेनजीहरूले देखेका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस् : रवि लामिछाने

आइतबार, पुष ६ २०८२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको कुनै विकल्प नरहेको स्पष्ट गरेका छन् । कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिसकोठीमा शनिबार आयोजित कार्यक्रममा कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उनले जेन–जीले देखाएको सपना पूरा गर्न निर्वाचन अनिवार्य रहेको बताए ।

सभापति लामिछानेले नवपुस्ताका माग सम्बोधन गर्दै तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न आफूहरू दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “निर्वाचनअघि जेन–जी आन्दोलनको बलमा बनेको सरकारले उनीहरूले देखेका सपना पूरा गर्ने हिम्मत र क्षमता देखाओस्। जेन–जीका माग पूरा गर्न र निर्वाचन सम्पन्न गर्ने सवालमा रास्वपा सधैँ सरकारसँग खडा हुनेछ।”

उनले सुशासनका विषयमा सरकार अझ दृढताका साथ उभिनुपर्नेमा जोड दिए। सभापति लामिछानेले भने, “मेरो व्यक्तिगत कुनै माग छैन। जेन–जीले जे उद्देश्यका लागि बलिदान दिएका थिए, त्यो पूरा गर्न सरकार अडिग रहोस्। त्यसमा हामी साथ दिन तयार छौँ। सुशासनका लागि भाइ–बहिनीहरूले बगाएको रगत र तिनका परिवारका सपना पूरा गर्न सरकारले कुनै कसर बाँकी नराखोस्।”

देश जटिल परिस्थितिमा रहेको उल्लेख गर्दै उनले सबै पक्षले संयमित भएर जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए। आवेग र उत्तेजनाबाट केही हासिल नहुने बताउँदै उनले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने स्पष्ट पारे। सभापति लामिछानेले लोकतन्त्रमा दृढ विश्वास राख्दै सधैँ जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

लामिछानेले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित आफूप्रति प्रतिशोध साँध्ने नेता हेलिकप्टरमा झुण्डिएर भाग्नुपरेको टिप्पणी गरेका छन् । अपदस्त सरकार हेलिकप्टरमा झुण्डिएर भागे पनि त्यही सरकारले आफूलाई झुण्ड्याइदिएको मुद्दा बोकेर बाँच्नुपरेको गुनासो गर्दै लामिछानेले भने, ‘मलाई झुटा मुद्दा लगाएर फसाउने सरकारको भागाभाग हामी सबैले देख्यौँ । प्रतिशोध साँध्ने सरकार हेलिकप्टरमा झुण्डेर भाग्नुपर्‍यो । तपाईं सांसद निर्वाचित भए पनि मन्त्री बन्न पाउनुहुन्न रे भन्दै पत्रकार साथीहरूले प्रश्न गरे । यो हुन पाउँदैन रे । ऊ हुन पाउँदैन रे । के मान्छे हुन पाउँछु म ? मान्छे मात्रै भएर बाँच्न पाएछु भने पनि म भ्रष्टाचारीविरुद्ध उभिनेछु ।’