शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई

लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र आन्तरिक लोकतन्त्रको प्रमाण

शनिबार, पुष ५ २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केपी शर्मा ओली नेतृत्वको कमिटीलाई बधाई दिँदै लोकतान्त्रिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु जनताको बहुदलीय जनवाद (जबज) को जीवन्त अभ्यास भएको बताएकी छन्।

विज्ञप्ति जारी गर्दै भण्डारीले महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुनु एमालेको संगठनात्मक परिपक्वता र आन्तरिक लोकतन्त्रको प्रमाण भएको धारणा व्यक्त गरिन् ।

तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनले महाधिवेशन सफल बनाउन अहोरात्र खटिएका प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कलाकारप्रति धन्यवाद व्यक्त गरिन् ।

 उनले विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार प्रकट गर्दै लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भएको उल्लेख गरेकी छन्। उनले प्रतिस्पर्धाले संस्थालाई अझ सुदृढ र जीवन्त बनाउने विश्वास व्यक्त गरिन् ।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र संगठनात्मक एकतालाई थप मजबुत बनाउँदै पार्टीलाई अघि बढाउने विश्वाससमेत उनले व्यक्त गरेकी छन् ।