काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थुनामुक्त प्रक्रियाका लागि रुपन्देही जाने क्रममा तराई क्षेत्रमा मौसम खराबी भएपछि काठमाडौंमै रोकिएका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले विभिन्न सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। उक्त आदेश न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासबाट जारी भएको हो।
अदालती प्रक्रिया पूरा गरी थुनामुक्त हुनका लागि उनलाई काठमाडौंको नख्खु कारागारबाट विमानमार्फत जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउने तयारी गरिएको थियो। तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा मौसम खराबीका कारण उडान अवरुद्ध हुँदा लामिछाने काठमाडौंमै रोकिएका हुन्।
मौसममा सुधार आएपछि उनलाई रुपन्देही लगिने तयारी रहेको बताइएको छ।