काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले आगामी २१ फागुनमा तय गरिएको निर्वाचन समयमै हुनेमा आशंका व्यक्त गरेका छन्। सरकारको तयारी अपेक्षाअनुसार नदेखिएको भन्दै उनले निर्वाचन प्रक्रियाप्रति गम्भीर चिन्ता जनाएका हुन्।
शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेताहरूसँगको भेटघाटमा बोल्दै डा. कोइरालाले तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पार्टी पंक्तिलाई तयारीमा जुट्न निर्देशन दिए।
उनले नेपाली कांग्रेस निर्वाचनमा सहभागी हुन पूर्ण रूपमा आतुर रहेको उल्लेख गर्दै निष्पक्ष र समयमै हुने निर्वाचनले मात्र प्रजातन्त्रको जग मजबुत हुने विश्वास व्यक्त गरे। अहिले आफूहरू निर्वाचनको मिति कुरेर बसेको अवस्थामा रहेको तर सरकारको तयारी कमजोर देखिँदा शंका पैदा भएको उनको भनाइ थियो।
डा. कोइरालाले सरकारलाई जिम्मेवार भएर काम गर्न आग्रह गर्दै भने, “हामी निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा समेत आशंका जन्मिएको छ। केही दलका नेताहरूलाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू छुटेका छन्—यी विषयमा सरकारले के सोचिरहेको छ ?”
उनले यस्ता गम्भीर प्रश्नहरूको समाधान नगरी निर्वाचन सम्भव नहुने भन्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न सुझाव दिए।