कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवा मनाइँदैछ। सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रिपरिषद्को निर्णयअनुसार आज सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरेको छ।
विशेषगरी बाजुरा, बझाङ र अछाममा यस पर्व विशेष महत्वका साथ मनाइन्छ। धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूको विजयको उत्सवका रूपमा भुवा पर्व मनाइन्छ। शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाका अनुसार यस पर्वमा प्रदर्शन गरिने भुवा नाच वीरताको प्रतीक मानिन्छ।
पछिल्लो समय पहाडी जिल्लाबाट तराईतर्फको बसाइँसराइ बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि बढेको छ। धनगढी, महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा पहाडी मौलिकता झल्काउने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना भइरहेको छ। बुढाले यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको उल्लेख गरे ।
“भुवा पर्व केवल मनोरञ्जन मात्र नभई एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्ग्रहको रूपमा रहेको छ,” उनले भने। पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ। पुरुषहरूले परम्परागत लुगा (सेतो जामा र पगरी) लगाएर हातमा तरबार र ढाल लिएर सामूहिक युद्धकला कौशल प्रदर्शन गर्छन्।
बेलडाँडीका टेकबहादुर साउदका अनुसार, “गाउँका बासिन्दा एकैठाउँ भेला भएर राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन छ। यस पर्वले समाजमा भाइचारा, एकता र वीरताको सन्देश प्रवाह गर्दछ।”
प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै भुवा पर्वमा सार्वजनिक बिदा दिँदै आएको छ।