काठमाडौँ । नेकपा एमालेका संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले ३३ वर्ष केन्द्रीय कमिटीमा रहेर काम गरेपछि सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले ११औँ महाधिवेशनबाट आफू पार्टीका कुनै कमिटी वा निकायमा नरहने स्पष्ट पारेका छन्।
एमालेको पाँचौं महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहेका अधिकारीले भने, “पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरेँ। जति दिन काम गरेँ, इमान, निष्ठा र समर्पणका साथ मनले गरें। तन, मन र धन दिंदै निस्वार्थ रूपमा काम गरेँ।”
उनले आफ्नो कार्यशैलीलाई “जसरी पनि जिम्मा पूरा गर्ने” बताउँदै, ३३ वर्ष केन्द्रीय सदस्य भए पनि आफू कहिल्यै नेता नभएको र वास्तविक कार्यकर्ता भएको अनुभव साझा गर्नुभयो। “म पद र अवसरका लागि मरिहत्ते गरिनँ। सपना असल कम्युनिस्ट बन्ने थियो तर सबै मानक पूरा गर्न सकिनँ,” उनले उल्लेख गरेका छन् ।
अधिकारीले अब पार्टीका कुनै पनि कमिटी वा निकायमा नरहने तर साधारण सदस्य भएर पार्टी, समाज र देशको हितमा काम गर्ने उद्घोष गर्नुभएको छ। साथै लामो राजनीतिक जीवनमा भएका भूलचुकका लागि सम्बन्धित सबैसँग क्षमा माग्दै, नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।
एमालेको ११औँ महाधिवेशनमा अधिकारीले कुनै पदमा उम्मेदवारी दर्ता नगरेका छन्। प्रारम्भमा अनुशासन आयोग प्रमुखमा उम्मेदवारी दिन मन लागेको भए पनि मनोयनपत्र दर्ता गर्ने समय सकिएको कारणले अन्ततः उम्मेदवारी दर्ता हुन सकेको थिएन।
अधिकारीले भने, “सुरुमा म उम्मेदवारी दिन मानेको थिएनँ। पछि सबैले आग्रह गरेपछि मनोनयनपत्र दर्ता गर्न गएका थियौं, तर समय सकिसक्दा दर्ता हुन सकेन।”