काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’ ले गरेको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।
जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको अपाङ्गताको अवस्था र गम्भीरताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिअनुसार वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरण सिफारिस गर्नेछन् भने सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणिकरण गर्ने व्यवस्था गरिएको छ।
कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरिनेछ। उक्त समितिले घाइतेहरूलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार वर्गमा वर्गीकरण गर्नेछ।
वर्गीकरण अनुसार गम्भीर घाइतेले मासिक नौ हजार रुपैयाँ र अतिगम्भीर घाइतेले जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, मध्यम प्रकृतिका घाइतेलाई मासिक चार हजार रुपैयाँ भत्ता उपलब्ध गराइनेछ।
गृहमन्त्री अर्यालको सक्रियतामा जेनजी घाइतेहरूको जनभावना अनुरूप वर्गीकरण प्रक्रिया छिटो टुंग्याउन मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको र सोहीअनुसार कार्य अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ।