बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रवि र छविकाे सहकारी ठगी मुद्दामा आज उच्च अदालतमा पेसी

बिहिबार, पुष ३ २०८२

बुटवल । सहकारी ठगी तथा सङ्गठित अपराधको अभियोगमा थुनामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार उक्त मुद्दा आजको पेसी सूचीमा समावेश गरिएको हो। यसअघि सो मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअघि दुई पटकसम्म रवि लामिछाने पक्षका कानुनी व्यवसायीको निवेदनका कारण बहस स्थगित भएको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको भनिएको आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसक्नुभएको भए पनि जिल्ला अदालत रुपन्देहीले उहाँलाई रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गराउनुभएको थियो। उक्त पुनरावेदन निवेदनमाथि आज सुनुवाइ हुने तयारी गरिएको छ।