काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। बुधबार बिहान करिब साढे ९ बजेदेखि सुरु भएको मतदान करिब साढे २१ घन्टापछि आज बिहान ७ बजे सकिएको हो।
अब मतगणनाको तयारी भइरहेको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतगणना सुरु भएको करिब दुई घन्टाभित्र परिणाम आउने अपेक्षा गरिएको छ।
एमाले महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना मतदाता रहेकामा २ हजार २ सय २७ मत मात्र खसेका छन्। विभिन्न कारणले ३६ जना मतदाता मतदानमा सहभागी हुन नसकेको एमाले निर्वाचन आयोगले जनाएको छ।
नयाँ नेतृत्व चयनका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। साथै, दुवै प्यानलमा नपरेका उम्मेदवारहरूले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्। यस महाधिवेशनबाट एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ।