काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। बिहीवार बिहान २ हजार २ सय २७ जना महाधिवेशन प्रतिनिधिले मतदान गरेसँगै निर्वाचन प्रक्रिया टुंगिएको हो। मतदानका क्रममा ३६ जना महाधिवेशन प्रतिनिधि अनुपस्थित रहेका छन्।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भएको छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे आमनेसामने छन्। अन्य पदाधिकारी पदहरूमा पनि दुवै पक्षबाट प्यानलसहित उम्मेदवारी परेको छ।
हाल ८० वटा विद्युतीय भोटिङ मेसिनबाट चिप्स निकाल्ने काम भइरहेको छ। चिप्स निकालिसकेपछि मतगणना सुरु गरिने एमालेले जनाएको छ। प्रत्येक मेसिनको फरक–फरक मुचुल्का खडा गरिने र मतपत्र गणना तथा मेसिनमा खसेको मत संख्या मिल्नुपर्ने व्यवस्था गरिएको छ। एक मेसिनको मुचुल्का तयार गर्न करिब दुई मिनेट लाग्ने अनुमान गरिएको छ। यसरी ८० वटा मेसिनका लागि करिब १ सय ६० मिनेट समय लाग्ने बताइएको छ।
मुचुल्का खडा भएपछि मेसिन लक गरी अलग–अलग कोड नम्बरका आधारमा चिप्स सिल गरिनेछ। सबै चिप्स सेन्टर कलेक्सनमा ल्याइएपछि सर्वपक्षीय बैठक बसेर मात्रै नतिजा सार्वजनिक गरिने एमालेको भनाइ छ। बिहान ८ बजेदेखि मतगणना सुरु गरी करिब तीन घण्टाभित्र नतिजा घोषणा गर्ने तयारी रहेको छ।