सिरहा । सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं ७ गण सिरहाको परिसरभित्र निर्माण गरिएको दुईतले ब्यारेक भवनको बुधबार उद्घाटन गरिएको छ। सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारीलाई आत्मसात् गर्दै राज्यका निर्देशन अक्षरशः पालना गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि कडाइका साथ निगरानी बढाउन र नागरिकको जिउधनको सुरक्षामा दिनरात सक्रिय रहनुपर्ने उनको भनाइ थियो।
वर्तमान सुरक्षा अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछिको अवस्थामा सुरक्षाकर्मीको जिम्मेवारी थपिएको बताउनुभयो। शान्ति सुरक्षा कायम राख्दै आगामी निर्वाचनका लागि आवश्यक तयारीमा जुट्नसमेत उनले निर्देशन दिए।
सीमा सुरक्षा मुख्य प्राथमिकता भएको उल्लेख गर्दै ढकालले अवैध आवतजावत, लागुऔषध, मानव तस्करी तथा चोरी–तस्करी नियन्त्रणमा थप सक्रियता देखाउन आग्रह गरे। “राज्यका सबै सुरक्षा निकायले आपसी समन्वयमा काम गर्नुपर्छ। जनताले तिरेको करबाट निर्माण भएका संरचनाको सदुपयोग गर्दै अझ जिम्मेवार भएर शान्ति सुरक्षा कायम गर्नुपर्छ,” उनले भने ।
सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार ब्यारेक भवन दुई चरणमा निर्माण गरिएको हो। पहिलो चरणमा ६१ लाख ७७ हजार रुपैयाँ र दोस्रो चरणमा ५४ लाख ६ हजार रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। नवनिर्मित भवन आवासीय प्रयोजनका लागि प्रयोग गरिनेछ।