धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा देखिएको वर्तमान राजनीतिक सङ्कटको समाधान प्रतिनिधिसभाको चुनावबाट मात्रै सम्भव हुने बताएका छन् ।
बुधबार महोत्तरीको गौशाला नगर कमिटीद्वारा आयोजित स्वर्गीय नेता काशी महतोको श्रद्धाञ्जलीसभामा सम्बोधन गर्दै संयोजक तथा पूर्वप्रधानमन्त्री दाहालले निर्वाचनका लागि पार्टीका सम्पूर्ण कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए। “देशलाई स्थिरता र निकास दिन अब चुनावको तयारी अपरिहार्य भइसकेको छ,” उनले भने, “निर्वाचन हुने कुरामा कसैले पनि सन्देह गर्नुपर्ने अवस्था छैन।”
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले स्वर्गीय नेता काशी महतो सबैका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे। उनले जनकपुरमा आयोजित एकता सन्देशसभामा महतोले पार्टी र आन्दोलनका लागि पुर्याएको योगदान अविस्मरणीय रहेको बताए।
स्वर्गीय नेता काशी महतोको गत मङ्सिर २२ गते हृदयघातका कारण निधन भएको थियो।