शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुदूरपश्चिमबाट कांग्रेस उम्मेदवार सिफारिसः देउवा डडेलधुरा, आरजु राणा कैलाली–५ बाट

बिहिबार, पुष ३ २०८२

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुराबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतका अनुसार जिल्लाबाट सर्वसम्मत रूपमा आएको देउवाको नाम प्रदेश कार्यसमितिले आज केन्द्रीय कार्यालयमा पठाएको हो।

यसैगरी कांग्रेसकी केन्द्रीय सदस्य एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र–५ (धनगढी क्षेत्र) बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। उक्त क्षेत्रमा प्रत्यक्षतर्फ राणासँगै कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह, विघटित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्त तथा धनगढी उपमहानगरपालिकाका पूर्व प्रमुख नृपबहादुर ओडको नाम पनि सिफारिस भएको छ।

कैलाली निर्वाचन क्षेत्र–४ बाट कांग्रेसका प्रदेश सभापति एवं विघटित प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरसहितका आकांक्षी सिफारिस भएका छन्। बलायर डोटीबाटसमेत उम्मेदवारका रूपमा सिफारिस हुनुभएको छ। सोही क्षेत्रमा कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरलगायत अन्य आकांक्षीको नाम पनि केन्द्रमा पठाइएको छ।

कञ्चनपुर निर्वाचन क्षेत्र–२ बाट विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता एनपी साउदसहितका आकांक्षी तथा कञ्चनपुर–३ बाट कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान गृहमन्त्री रमेश लेखकसहितका आकांक्षी सिफारिस भएका छन्।

अछाम–२ बाट विघटित प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहसहितको नाम सिफारिस गरिएको छ भने दार्चुलाबाट विघटित प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू एकल रूपमा सिफारिस भएका छन् ।

प्रदेश कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका साथै समानुपातिक तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र र जिल्ला कार्यसमितिबाट सिफारिस भई आएका सबै आकांक्षीको नाम केन्द्रमा पठाइसकेको प्रवक्ता रावतले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नौ जिल्लामा १६ निर्वाचन क्षेत्र रहेका छन्। विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका आठ, नागरिक उन्मुक्ति पार्टीका तीन, तत्कालीन नेकपा (एकीकृत समाजवादी) का तीन र नेकपा (एमाले) का दुई उम्मेदवार विजयी भएका थिए।