चितवन, २ पुस । चितवन जिल्लामा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण पछिल्लो पाँच महिनामा छ जनाको मृत्यु भएको छ। गत साउनयता जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको ज्यान गएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्। मृतकहरूको उमेर क्रमशः ८९, ८१, ७०/७०, ४२ र ३९ वर्ष रहेको छ।
सङ्क्रमित १७ जनामध्ये १० जना महिला र सात जना पुरुष रहेका छन्। उमेर समूहअनुसार तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्ष उमेर समूहका र नौ जना ६० वर्षमाथिका रहेका छन्। सङ्क्रमितमध्ये १५ जनाले जापानिज इन्सेफ्लाइटिसको खोप नलगाएको र दुई जनाले खोप लगाए–नलगाएको बारे स्पष्ट जानकारी नभएको कार्यालयले जनाएको छ।
स्थानगत रूपमा हेर्दा सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिका, चार जना खैरहनी नगरपालिका, एक जना माडी नगरपालिका, एक जना रत्ननगर नगरपालिका, दुई जना राप्ती नगरपालिका र दुई जना कालिका नगरपालिकाका रहेका छन्।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टे प्रायः घर बाहिर बस्न रुचाउने, साँझ र बिहान बढी सक्रिय हुने र बाहिरै टोक्ने गर्दछ। सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसमा रोग सर्न सक्ने जनाइएको छ। धानखेती हुने क्षेत्रमा यस जातको लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने भएकाले जोखिम बढी रहने जनस्वास्थ्य कार्यालयले जनाएको छ।