शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुशासन र निर्वाचन सरकारको मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की

बुधबार, पुष २ २०८२

 ललितपुर । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले सुशासन र निर्वाचनलाई आफ्नो मुख्य एजेन्डा बनाएर काम गरिरहेको बताएकी छन् ।

आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३–२४ मा भएका जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारी अगाडि बढाइरहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ। त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दछु। मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउन हामीसँग रहेको एकमात्र विकल्प भनेको निर्वाचन हो।”

उनले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउन नहुने भन्दै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन्। “खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि महत्त्वपूर्ण भूमिका छ। आउनुहोस्, समाजमा शान्ति कायम गर्दै सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौँ,” प्रधानमन्त्रीले भनिन् ।

समारोहमा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घोषणा गरिएको निर्वाचन सफल बनाउन जेनजी समूहको सहयोग आवश्यक रहेकोमा जोड दिए। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न समयमा विभिन्न तहमा योगदान पुर्‍याएका व्यक्तित्वका कारण ललितपुर महानगरपालिका आजको अवस्थामा पुगेको बताए।

कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गाला स्कुल, निराराज्य लक्ष्मी राणासमेतलाई सम्मान गरिएको थियो।