बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण र चार लेन पुलको निरीक्षण

बुधबार, पुष २ २०८२

कञ्चनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आज महेन्द्रनगरस्थित महाकाली सिँचाइ तेस्रो चरण आयोजना र महाकाली चार लेन पुलको स्थलगत निरीक्षण गरेका छन्।

सो अवसरमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले आयोजनाको पछिल्लो प्रगतिका बारेमा जानकारी दिए ।

लामो समयदेखि प्रक्रियागत अल्झनका कारण पुल र सिँचाइको काम प्रभावित भएको बताइएको छ। राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत २८ किलोमिटर मूल नहर निर्माण भइसकेको र पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ संरचना तयार भए पनि टनकपुरबाट भारतीय पक्षले नहरमा पानी नछोड्दा यहाँका किसानले सिँचाइ सुविधा प्राप्त गर्न सकेका छैनन्।

मन्त्री घिसिङले सिँचाइ आयोजनाको समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए। “महाकाली सिँचाइ तेस्रो चरण नहरमा पानी सञ्चालनका लागि माथिल्लो तहबाट नै भारतसँग पहल भइरहेको छ। यहाँको समस्याबारे जानकारी भएको छ र समाधानमा लाग्छौँ,” उनले भने।

त्यसैगरी भीमदत्त नगरपालिका–११ स्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेन पक्की पुलको छेउमा कृतिम ताल र तटबन्ध निर्माणका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय नहुँदा डेढ वर्षदेखि निर्माण कार्य रोकिएको छ। पहिले निर्माण भएको तटबन्ध महाकाली नदीको बाढीले भत्काएपछि डिजाइनमा परिवर्तन गरिएको थियो। नयाँ डिजाइन हालसम्म स्वीकृत नहुँदा काम हुन सकेको छैन।

मन्त्री घिसिङले “तटबन्ध निर्माण नहुँदा यहाँ बाढीको जोखिम छ। वर्षातअघि समस्या समाधान हुनेगरी काम अघि बढाउनेछौँ” जानकारी दिए।