काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक तथा हाल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख पदमा कार्यरत बिनेश मुनंकर्मीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार मुनंकर्मीले पदीय मर्यादा विपरीतका कार्य गर्दै सार्वजनिक पदको दुरुपयोग गरी ठूलो मात्रामा गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको छ।
आयोगले मुनंकर्मीले मिति २०५४।११।०१ देखि २०८०।०८।१४ सम्म सरकारी तथा सार्वजनिक पदमा रहँदा आर्जन गरेको आय र गरेको खर्चको विस्तृत अनुसन्धान गरेको थियो। सो अवधिमा उनले तथा उनका एकाघर परिवारका सदस्यहरूले तलब, जग्गा बिक्री, ऋण सापटी, शेयर तथा लाभांश, बीमा, भत्ता, बोनस, ब्याज आयलगायत विभिन्न वैधानिक स्रोतबाट जम्मा तीन करोड त्रिहत्तर लाख एकासी हजार चार सय चौवालीस रुपैयाँ बीस पैसा आम्दानी गरेको देखिएको आयोगले जनाएको छ।
तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन तथा सुनका गरगहना खरिद, बीमा प्रिमियम, अध्ययन शुल्क, ऋण भुक्तानी, व्यवसाय तथा कम्पनीमा लगानी, मुद्दती खातामा मौज्दात, बैंक तथा सहकारी खाताको रकम, नगद तथा अमेरिकी डलर रुपान्तरणसमेत गरी छ करोड चौबीस लाख पन्ध्र हजार नौ सय एकसट्ठी रुपैयाँ उनान्चालीस पैसा खर्च भएको पाइएको छ। यसरी कुल आयभन्दा दुई करोड पचास लाख चौतीस हजार पाँच सय सत्र रुपैयाँ उन्नाइस पैसाले खर्च बढी भएको र सो रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको आयोगको निष्कर्ष छ।
अख्तियारका अनुसार प्रतिवादी मुनंकर्मीले आयोगमा पेस गरेको सम्पत्ति विवरण वास्तविक आय–व्ययसँग मेल नखाने, अस्वाभाविक तथा उच्च जीवनशैली देखिने खालको रहेको पाइएको छ। साथै उनले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती पूर्ण केशरी गोसाईंको नाममा समेत खरिद गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ।
उक्त आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिनेश मुनंकर्मी र उनकी श्रीमती पूर्ण केशरी गोसाईंविरुद्ध भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानून बमोजिम कसुर कायम गरी सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।