काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पञ्चाङ्ग विसं २०८२ सालकै आधारमा प्रकाशन गर्ने निर्णय गरेको छ। पञ्चाङ्गकारहरूसहितको संयुक्त बैठकबाट उक्त निर्णय गरिएको समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार विभिन्न कारणले पञ्चाङ्ग रूजु तथा छलफलमा ढिलाइ भएको, केतकी ग्रहगणितबाट पञ्चाङ्ग खण्ड तयार गर्न थप समय लाग्ने र थप छलफल आवश्यक देखिएकाले पञ्चाङ्ग प्रकाशनमा ढिलाइ हुन गएको हो। यस्तो अवस्थामा सेवाग्राहीलाई समस्या पर्न नदिन २०८२ सालकै आधारअनुसार पञ्चाङ्ग प्रकाशन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको थियो। समितिको निर्णयअनुसार नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रहने व्यवस्था गरिएको थियो। अन्य ग्रहहरूको गणना भने ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितको आधारमा गरी पञ्चाङ्ग प्रकाशन हुँदै आएको छ।
यसैबीच, सौरोक्त पद्धतिलाई समयसापेक्ष आकाशको ग्रहस्थितिसँग अझ बढी मेल खाने गरी सुधार गर्न सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त ज्योतिषी विद्वानलाई आमन्त्रण गरी छलफल प्रक्रिया तत्काल अघि बढाउने निर्णय समेत गरिएको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बताए ।