शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले ११औं महाधिवेशनः आज नयाँ नेतृत्व चयनका लागि मतदान

बुधबार, पुष २ २०८२

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएपछि आज बिहान ८ बजेदेखि प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।

मंगलबार भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसिसकेका बेला साँझ ७ बजे मतदान स्थगित गरिएको थियो। आजको मतदान पनि भृकुटीमण्डपमै हुनेछ भने आवश्यकताअनुसार मतदान हल परिवर्तन गरिने जनाइएको छ।

एमालेले यसपटक इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्दैछ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएका छन्। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका ती मेसिन जडानको काम मंगलबार नै सम्पन्न भइसकेको छ।

निर्वाचनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुनेछन्। नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धा गरिरहेका छन्।

यसैबीच, केही केन्द्रीय सदस्य तथा विभिन्न आयोगका पदाधिकारी र सदस्यहरू भने निर्विरोध निर्वाचित भइसकेका छन्।