शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेको नयाँ नेतृत्व चयनका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै

मंगलबार, पुष १ २०८२

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आज मतदानको कार्यतालिका तोकिएको हो ।

नयाँ नेतृत्वका लागि हिजो राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार यस निर्वाचनमार्फत ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोग गरी कुल ३५१ पदका लागि निर्वाचन हुँदैछ ।

एमालेले यसपटक महाधिवेशनमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने व्यवस्था मिलाइएको छ ।

विद्युतीय भोटिङ मेसिन आपूर्ति गर्ने रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालका अनुसार हाल मेसिनमा उम्मेदवारहरूको नाम प्रविष्ट गर्ने काम भइरहेको छ । “निर्धारित समयमै उम्मेदवारको नाम इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने प्रयासमा छौँ,” उनले भने, “तर उम्मेदवारको संख्या धेरै भएकाले केही समय लाग्न सक्छ, जसका कारण मतदान सुरु हुने समय केही ढिला हुनसक्छ ।”

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिव पदमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डे उम्मेदवार रहेका छन् ।

महाधिवेशनमा सहभागी कुल २ हजार २६३ प्रतिनिधिले आज मतदान गर्नेछन् ।